बिर्तामोड । प्रथम झापा कप २०८१ को पहिलो क्वार्टरफाइनल खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र सलहेश युवा क्लब सिरहाबीच हुँदैछ । प्रतियोगिता डोमालाल राजवंशी रंगशालामा हुनेछ ।

 

मधेशको चर्चित टिम सलहेशले पूर्वी नेपालका प्रतियोगितामा बलियो खेल प्रदर्शन गर्दै आएको छ । बैशाखमा भएको भोजपुर गोल्डकपमा सेमिफाइनल पुगेको क्लबले चर्च ब्वाइजसँग हार व्यहोर्नु परेको थियो ।

 

त्यस्तै, बैशाखमै भएको भीमनारायण गोल्डकपमा पहिलो चरणमै रोकिएको सहलेश भदौमा भएको ताप्लेजुङ गोल्डकपको उपविजेता बनेको थियो ।

 

आर्मीले यो सिजन खराब प्रदर्शन गर्दै आएको छ । बैशाखमा भएको भीमनारायण गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको आर्मी भोजपुर गोल्डकपमा उपविजेतामा सीमित रहेको थियो ।

 

त्यस्तै, ताप्लेजुङ गोल्डकपमा क्वार्टरफाइनलमै रोकिएको विभागीय क्लब मंसिर २४ गते भएको इलाम गोल्डकपको पहिलो खेलमै चर्च ब्वाइजसँग स्तब्ध भएको थियो ।

 

शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपजिेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।

 

प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एक जना तथा उत्कृष्ट गोलकिप्पर एक जनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

 

प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।