फिदिम । यहाँ जारी ११औँ फाल्गुनन्द गोल्डकपमा आयोजक फिदिम स्पोर्टिङ क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।
आज भएको पहिलो क्वाटर फाइनल खेलमा ए डिभिजन क्लब आर्मीलाई पेनाल्टी सुटआउटमा ४-३ गोलअन्तरले पराजित गर्दै आयोजक फिदिम सेमिफाइनल पुगेको हो । निर्धिरित समयको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो ।
आर्मीका दुई खेलाडीको प्रहारलाई आयोजकका गोलरक्षक मिराक खजुमले रोके भने आर्मीका नविन परियारले आयोजकको एक पेनाल्टी रोकेका थिए । खेलको प्लेयर अफ दि म्याच फिदिम स्पोर्टिङ क्लबका विशाल दर्जी घोषितहुँदै नगद १० हजार प्राप्त गरे ।
फाल्गुनन्द गोल्डकपमा भोलि मंगलबार मच्छिन्द्र फुटबल क्लब काठमान्डौ र न्यू स्टार क्लब सुनसरी भिड्ने छन् । पुस १५ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख ५५५ र उपविजेताले ५ लाख ५५५ प्राप्त गर्नेछ । फिदिम नगरपालिका प्रवद्र्धक रहेको गोल्डकपको आयोजना फिदिम स्पोर्टिङ क्लबले गरेको हो ।