फिदिम । पॉचथरको फिदिममा आजदेखि सुरू भएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फिदिम भेट्रान्स गोल्डकपमा आयोजक फिदिम भेट्रान्स क्लब र बौद्ध भेट्रान्स रानीटारले विजयी सुरूवात गरेका छन् ।
फिदिम माविको खेल मैदानमा बुधबार भएको पहिलो क्वाटर फाइनलमा युनाइटेड फ्रेन्डस क्लब (युएफसी) दार्जिलिङलाई टाइब्रेकरमा ३-१ गोलले पराजित गर्दै आयोजक सेमिफाइनल पुगेको हो । निर्धारित समयमा दुवै टिमबाट एक एक गोलको बराबरी भएपछि नतिजा टाइब्रेकरबाट लिइएको हो ।
आज नै भएको दोस्रो क्वाटरफाइनलमा सडन डेथमा ८-७ गोलले आठराई गाउँपालिका तेह्रथुम भेट्रान्सलाई पराजित गर्दै बौद्ध भेट्रान्स रानीटार (पॉचथर) प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमामा पनि ५५ गोलको बराबरी भएपछि नतिजा सडन डेथमार्फत निकालिएको हो ।
आठ टिम सहभागी रहेको प्रतियोगिताको तेस्रो र चौथो क्वाटर फाइनल खेलहरू माघ १० गते बिहीबार हुने आयोजकले जनाएको छ । बिहीबार दूधे भेट्रान्स झापा र स्काइ क्लब सुनसरी र अन्तिम क्वाटर फाइनल खेलमा रेड स्टार क्लब बिर्तामोड र गोरख भेट्रान्स इलामबीच हुनेछ ।
फिदिम भेट्रान्स क्लबको आयोजनामा भएको गोल्डकपको फाइनल खेल माघ १२ गते हुनेछ । गाेल्डकपकाे विजेताले १ लाख ५ हजार ५५५ र उपविजेताले ५५ हजार ५५५ प्राप्त गर्नेछ ।