झापा । आठौँ संस्करणको नवज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८१ को तयारी अन्तिम पुगेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने प्रतियोगिताका लागि खेलमैदानसहित बाँसको प्यारापिट निर्माण गरिएको छ ।
यसैबीच, आयोजकले प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब खेल्नेछन् ।
दोस्रो क्वार्टर फाइनल खेल आयोजक नवज्योति युवा क्लब र रेडहर्स एफसी इलामबीच हुने क्लबका उपाध्यक्ष खेमराज श्रेष्ठले जानकारी दिए । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेलमा भारतको सिलिगुडी युनाइटेडले न्यु स्टार एफसी सुनसरीका विरुद्धमा खेल्नेछ । अन्तिम क्वार्टर फाइनल खेल प्लानिङ ब्वाइज काठमाडौँ र मानेभञ्ज्याङ एफसी दार्जिलिङबीच हुनेछ ।
नवज्योति युवा क्लबको आयोजनामा हुँदै आएको प्रतियोगिता यही माघ २१ देखि २८ गतेसम्म जयपुरस्थित आदर्श माध्यमिक विद्यालयको खेलमैदानमा हुने क्लबका सचिव मुकेश भट्टराईले बताए । क्लबका अध्यक्ष गोपाल पोखरेलका अनुसार प्रतियोगिताको विजेताले नगद दुई लाख २५ हजार र उपविजेता टिमले नगद एक लाख २५ हजार प्राप्त गर्ने छन् ।
एलिस सप्लायर्स मुख्य प्रायोजक रहेको प्रतियोगिताको प्लेयर अफ द म्याचले नगद सात हजार पाउने छन् । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले नगद १० हजार तथा सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ पाउने छन् ।
सातौँ संस्करणको प्रतियोगितामा दार्जिलिङको मानेभञ्ज्याङ एफसीले बिर्तामोड युनाइटेड क्लबलाई हराउँदै उपाधि जितेको थियो । बुद्धशान्ति गाँउपालिका, २ नम्बर वडा कार्यालय, सिजनल टिकट, गेट टिकट, विज्ञापन, विभिन्न दाताहरुबाट स्रोत संकलन गर्ने लक्ष्य लिइएको प्रतियोगिता सम्पन्न गर्न अनुमानित ३१ लाख रुपैयाँ खर्च लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
यसैबीच, अघिल्लो संस्करणबाट बचतमा रहेको २२ लाख रुपैयाँबाट क्लबको कार्यालय भवनको निर्माण सुरु गर्ने तयारी भएको अध्यक्ष पोखरेलले जानकारी दिए । २०४२ सालमा स्थापना भएको उक्त क्लबले जयपुरमा खेलकुद, सांस्कृतिक, साहित्यको क्षेत्रमा विविध कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ ।