शनिश्चरे (झापा) । अर्जुनधारा ६ र ८ नम्बर वडाको टिमले आज शनिश्चरे एफसी अर्जुनधारा झापाको आयोजनामा यहाँ जारी तेस्रो यु-१८ वडास्तरीय फुटबलको फाइनल खेल खेल्दैछन् ।

 

अर्जुनधारा ७ स्थित खेलमैदानमा आज हुने फाइनल खेल हुनेछ । अन्तिम सेमिफाइनल खेलमा अर्जुनधारा ८ ले ७ नम्बर वडाको टिमलाई २-१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

 

यसैगरी, अर्जुनधारा ६ नम्बरले पहिलो सेमिफाइनल खेलमा अर्जुनधारा १ लाई १-० गोलको झिनो अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । अर्जुनधारा ६ को जितमा आत्मघाती गोलको उपहार नै निर्णायक बनेको थियो ।

 

प्रतियोगितामा नगरपालिकाभित्रका ११ वटा वडाका टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमशः ५० हजार र ३० हजारसहित ट्रफी पाउने छन् ।