शनिश्चरे (झापा) । झापाको अर्जुनधारा खेलमैदानमा आयोजित यु-१८ वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि ६ नम्बर वडाको टिमले रक्षा गरेको छ । अर्जुनधारा ६ नम्बर वडाका लागि यो उपाधि दोस्रोपटक हो ।

 

शनिश्चरे एफसीले बर्सेनि आयोजना गर्ने प्रतियोगिताको पहिलो संस्करण पनि ६ नम्बर वडाले जितेको थियो । आज सम्पन्न तेस्रो संस्करणमा पनि च्याम्पियन बनेको हो । आजको खेलमा चिरपरिचित प्रतिद्वन्द्वी ८ नम्बर वडाको टिमलाई १-० गोलको झिनोअन्तरले पराजित गरेको हो ।

 

तेस्रो संस्करणसम्म आइपुग्दा यी दुई टोली नै फाइनलमा पुगेका थिए । दोस्रो संस्करण भने ८ नम्बर वडाको टिमले जितेको थियो । ६ नम्बर वडाको जितमा साहिल तामाङको गोल नै निर्णायक बन्यो । उनी खेलको सर्वाधिक गोलकर्ता बने ।

 

यसैगरी खेलको प्लेयर अफ दी म्याच ६ नम्बर वडाकै अमन दनुवार भए । उत्कृष्ट प्रशिक्षक ६ नम्बरकै भीम राई भए । खेलको सर्वोत्कृष्ट खेलाडी भने ८ नम्बरका क्षितिज अधिकारी, उत्कृष्ट रक्षक लक्कीराम हेमरम र उत्कृष्ट मिडफिल्ड सांगे तामाङ घोषित भए ।

 

अर्जुनधारा नगरपालिकाका ११ वटै टोली सहभागी प्रतियोगिताको फेयर प्ले टिम भने वडा नम्बर ७ को टिम घोषित भयो । वडा नम्बर ७ कै गोलरक्षक अनमोल लिम्बू उत्कृष्ट गोलरक्षक भए । यसैगरी, प्लेयर अफ दी इयरका रुपमा अर्जुनधारा १ का कप्तान गणेश गजमेर घोषित हुँदै १५ हजारबराबरको एक थान साइकल पाउन सफल भए ।

 

प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमशः ५० हजार र ३० हजारसहित ट्रफी पाए । उनीहरुलाई झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, वडाध्यक्षहरुलगायतले पुरस्कार तथा ट्रफी प्रदान गरे ।