काठमाडौं । एनएसएलको आज भएको खेलमा १० खेलाडी समेटिएको बुटवल लुम्बिनीबी एफसीसँग झापा एफसी रोकिएको छ । बुटबल लुम्बिनीसँग झापाले गोलरहित बराबरी खेलेपछि रोकिएको हो।

 

पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोलरक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा‌ झापाले गोल गर्न सकेन। दोस्रो हाफमा दुवै टिमले फितलो प्रदर्शन गर्दा खेल गोलरहित बराबरीमा सकिएको हो।

 

अन्तिम २० मिनेट बुटवल १० खेलाडी समेटिए पनि यसको फाइदा झापाले उठाउन सकेन। पहिलो हाफमा झापाले पूर्ण रूपमा पकड बनायो। गोल गर्ने उत्कृष्ट मुभहरु बुन्यो। तर‌ करिब आधा दर्जन मौकालाई सदुपयोग गर्न सकेन ।

 

खेलको ७०औं मिनेटमा भने बुटवल १० जनामा समेटियो। कप्तान एरिक बिष्टले झापाका इसाएभ मुखाम्मदलाई‌ फाउल हाने। रेफ्रीले दोहोरो पहेंलो कार्ड दिएसँगै एरिक बाहिरिए। कप्तानको जिम्मेवारी त्यसपछि मनिष डाँगीले सम्हाले। अब एरिकले धनगढी एफसीसँगको खेल पनि गुमाउनेछन्।

 

१ खेलाडी कम हुँदाको फाइदा झापाले उठाउन सकेन। दुवैले समान १-१ अंक बाँडे। भोलि एफसी चितवन र पोखरा थन्डर्सबीच खेल हुनेछ। एनएसएलको जारी तेस्रो संस्करणमा ७ टोलीको सहभागिता छ।