शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा जारी प्रथम वडास्तरीय टि-२० नकआउट क्रिकेट प्रतियोगितामा आज वडा नम्बर ७ र वडा नम्बर ८ विजयी बनेका छन्।

 

अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको पहिलो खेलमा वडा नम्बर ७ ले वडा नम्बर ६ लाई ४६ रनले पराजित गर्यो। खेलमा टस जितेर वडा नम्बर ७विरुद्ध फिल्डिङ रोजेको वडा नम्बर ६ ले २० ओभरमा ९ विकेटमा १४० रन जोडेको थियो ।

 

जवाफी ब्याटिङमा १४१ रनको लक्ष्य पाएको वडा नम्बर ६ ले उत्कृष्ट ब्याटिङ गर्न भने सकेन । १९ ओभरमा समेटिदैँ ९३ रनमात्रै बनाउन सक्यो। ४ ओभरमा १४ रन खर्चेर चार विकेट लिन सफल वडा नम्बर ७ का प्रखर कटुवाल म्यान अफ दि म्याच घोषित भए । उनले ब्याटिङतर्फ ३३ बलमा ४३ रन जोडेका थिए।

 

त्यस्तै, आजै भएको दोस्रो खेलमा वडा नम्बर ५ विरुद्ध वडा नम्बर ८ ले ९९ रनको फराकिलो विजय हासिल गर्यो। टस जितेर फिल्डिङ रोजेको वडा नम्बर ५ ले वडा नम्बर ८ लसँग २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १६४ रन दिएको थियो ।

 

१६५ रनको लक्ष्य पाएको वडा नम्बर ५ ले फितलो जवाफी ब्याटिङ गर्दा नतिजा गुमाउन पुग्यो। वडा नम्बर ५ ले १७ ओभर ३ बलमा सबै विकेट गुमाएर ६५ रनमात्रै जोड्न सक्यो।

 

दोस्रो खेलमा वडा नम्बर ८ का अलराउन्डर चन्द्र भट्टराई म्यान अफ दि म्याच घोषित भए। उनले ब्याटिङतर्फ २४ बलमा २९ रन प्रहार गरे। बलिङतर्फ ३ ओभरमा ४ रन खर्चेर ३ विकेट लिएका थिए ।

 

आजको दुवै खेलमा म्यान अफ दि म्याच चुनिएका खेलाडीहरूले नगद १ हजार पुरस्कार पाए । पहिलो खेलको म्यान अफ दि म्याचलाई अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शी र दोस्रो खेलको म्यान अफ दि म्याचलाई प्रतियोगिता आयोजक समितिका अध्यक्ष सुरेन्द्र धिमालले पुरस्कार प्रदान गरे ।

 

खेलाडी उत्पादनसँगै अर्जुनधारा नगरपालिकाको वडास्तरमा खेलाडीहरूको पहिचान गरी नगरको स्तरीय क्रिकेट टिम निर्माणका लागि प्रतियोगिता सञ्चालन गरिएको नगर खेलकुद अध्यक्ष धिमालले जानकारी दिए ।

 

चैत्र २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५० हजार तथा उपविजेताले नगद २५ हजारसहित ट्रफी तथा मेडल पाउने छ । उद्घाटन खेलमा वडा नं २ ले वडा नम्बर ११ लाई चार विकेटले पराजित गरेको थियो भने, दोस्रो खेलमा वडा नम्बर ३ ले वडा नम्बर १०लाई १ विकेटले पराजित गरेको थियो।