काठमाडौँ । सहिद स्मारक बी डिभिजन लिगमा बिर्तामोडको झापा फुटबल क्लब विजयी भएको छ । जारी लिगमा झापाको यो लगातार दोस्रो जित हो ।

 

झापाले पाँचौँ चरणको खेलमा रानी पोखरी कर्नर टिम (आरसीटी) लाई २-१ गोलअन्तर हराएको हो । खेलको २०औँ मिनेटमा प्रदिप बुढाथोकीले पेनाल्टीमा गोल गर्दै पहिले अग्रता बनाए ।

 

त्यस्तै, खेलको ४२औँ मिनेटमा झापा अग्रता दोब्बर बनाउन सफल रह्यो । उसको लागि मनिष लिम्बूले गोल गरे । पहिलो हाफमा झापा २–० ले अगाडि बढ्यो ।

 

२-० पछि परेको आरसिटीको लागि प्रज्ज्वल गुरूङले ५५औँ मिनेटमा एक गोल फर्काए । योसँगै आरसीटीले खेलमा फर्कने संकेत देखायो । तर, त्यसपछि दुवै टिमबाट गोल भएन । खेलको प्लेयर अफ दी म्याच झापाका प्रदिप बुढाथोकी भए । उनले नगद ७ हजार ५ सय र ट्रफी पाए ।

 

लगातारको दोस्रो जितमा झापा ७ अंकका साथ लिगको पाँचौँ स्थानमा उक्लिएको छ । झापाले ५ खेलमा २ जित, १ बराबरी र २ हारमा ७ अंक बनाएको हो ।