संक्रान्ति बजार । तेह्रथुमको आठराई गाउँपालिकामा जारी मदन मेला २०८२ को पुरूष तथा महिला फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । महिलातर्फ एक र पुरुषतर्फ तीन टोली विजयीहुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

 

आइतबार सम्पन्न पुरूषतर्फको दोस्रो क्वाटरफाइनलमा पाहिम समाजलाई टाइब्रेकरमा ४-३ गोलअन्तरले पराजित गर्दै आठराई गाउँपालिका सेमिफाइनल पुगेको हो । निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।

 

त्यस्तै, तेस्रो क्वाटरफाइनलमा मुनाल क्लब जलजलेलाई ३-१ गोलले पराजित गर्दै सोधुङ सेन्दाङले सेमिफाइनलमा तमु ह्युल छोँज धि आठराईसंग भेट पक्का गरेको छ ।

 

त्यसैगरी, चौँथो क्वाटरफाइनलमा गिरी समाज खाम्लालुङलाई सडनडेथमा ६-५ गोलले पराजित गर्दै म्याङलुङ स्पोर्टिङ क्लबले सेमिफाइनलमा आठराई गाउँपालिकासंगको भेट निश्चित गरेको हो । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए ।

 

महिलातर्फको पहिलो सेमिफाइनलमा फेदाप गाउँपालिका र म्याङलुङ स्पोर्टिङ साथै दोस्रो सेमिफाइनलमा दोखु युवा क्लब ताप्लेजुङ र मुनाल क्लब जलजले भिड्ने पक्का भएको छ ।

 

आज सम्पन्न अन्तिम क्वाटरफाइनलमा लुम्फाबुङ पॉचथरलाई टाइब्रेकरमा ४-३ गोलअन्तरले पराजित गरेसंगै महिलातर्फको सेमिफाइनल समिकरण पूरा भएको थियो । निर्धारित समयमा दुबै टिमबाट ११ गोलको बराबरी भएपछि नतिजा टाइब्रेकरमार्फत लिइएको हो ।

 

१६ टिम सहभागी रहेको मदन मेमोरियल पुरुष फुटबलको विजेताले २ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले १ लाख ३० हजार ५५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

 

६ टिम सहभागी रहेको महिला फुटबलको विजेताले नगद ८० हजार ५५५ र उपविजेताले ५० हजार ५५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । मेलामा आठराई गाउँपालिका र मदन धारा समितिको आर्थिक सहयोग रहेको छ ।