झापा । ध्रुवतारा स्पोर्टिङ क्लब दमक बुद्धशान्तिमा जारी एन्फा रेफ्री स्व लोकराज ढुंगाना स्मृति च्यालेन्ज कप फुटबल प्रतियोगिताकोको उपाधि नजिक पुगेको छ ।

 

बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा न्यु स्टार क्लब बिर्तामोडलाई २-० गोलअन्तरले पराजित गर्दै ध्रुवतारा स्पोर्टिङ क्लब फाइनलमा प्रवेस गरेको हो । दमकले जितसँगै कम्तीमा ४० हजार सुरक्षित गरेको छ ।

 

ध्रुवताराको जितका लागि सक्सेस राई र प्रविण राईले इन्जुरी समयमा गोल गरेका हुन् । खेलको प्लेयर अफ दि म्याच दमकका गोलरक्षक आयुस लिम्बू घोषित हुँदै नगद १ हजार ५ सय प्राप्त गरे ।

 

आदर्श युवा क्लबका पूर्व अध्यक्ष तथा कोशी प्रदेश फुटबल रेफ्री संघका सदस्यसमेत रहेका ढुंगानाको गतवर्ष निधन भएको थियो । उनले बुद्धशान्ति तथा खेलकुद क्षेत्रलाई पूर्याएको योगदान अतुलनीय रहेको भन्दै उनको सम्झनामा क्लबले फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

 

ध्रुवतारा स्पोर्टिङ क्लबले अब राजगढ फुटबल क्लबसँग शनिबार फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले नगद ७० हजार र आकर्षक ट्रफी पाउने छ ।