झापा । निजामती कर्मचारी संगठन अर्जुनधाराको आयोजनामा सम्पन्न एक दिवसीय फुटसल प्रतियोगिताको उपाधि प्याव्सन अर्जुनधाराले जितेको छ । फाइनल खेलमा अर्जुनधारा प्रेस क्लबलाई ४-० गोलले हराउँदै प्याव्सनले उपाधि जितेको हो ।

 

उपाधि जितेसँगै प्याव्सनले नगद ५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ भने उपविजेतामा चित्त बुझाएको अर्जुनधारा प्रेस क्लबले नगद तीन हजारसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र पायो । प्रेस क्लबले नगरकाे जनप्रतिनिधि र नगर प्रहरीकाे टाेलीमाथि जित दर्ता गरेकाे थियाे ।

 

प्रतियोगिताभन्दा पनि नगरमा रहेका शिक्षक, कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मीहरुबीच परस्पर सम्बन्ध कायम राख्न आयोजना गरिएको संगठनका अध्यक्ष त्रिविक्रम पोखरेल बताए । यसैबीच, अर्काे महिना (जेठ १५ गते) प्याव्सन अर्जुनधाराले फुटसल आयोजना गर्ने भएकाे छ ।

 

प्रतियोगितालाई सम्पन्न गर्न गमस्ता स्पोर्टस हब अर्जुनधारा-६, एग्रो फ्रुट अर्जुनधारा-५ र मनकामना फ्रुट एण्ड वेभरेज अर्जुनधारा-५ ले सहयोग गरेको थियो । संगठनका अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको प्रमुख अतिथि संगठनका जिल्ला अध्यक्ष हिरण्य न्यौपानेले उद्घाटन गरेका थिए ।

 

प्रतियोगितामा शिक्षक महासंघ अर्जुनधारा, अर्जुनधारा कर्मचारीको २ वटा टिम, जनप्रतिनिधि, प्याव्सन अर्जुनधारा र अर्जुनधारा प्रेस क्लब गरी ६ वटा टिमको सहभागिता रहेको थियो । कर्मचारी संगठनका सल्लाहकार संयाेजक गाेविन्द रिजालले स्वागत गरेको कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष भुपेन्द्र न्यौपानेले शुभकामना व्यक्त गरेका थिए ।