शब्दहरु खोजे आमाको तारिफ गर्न भनेर
ती शब्दहरु पाइन जस्ले आमाको बर्णन पूर्ण गर्न सकोस्।
हसाउँछु आमालाई भनेर खोजी हिँडे खुशीहरु
तर, ती सबै खुशीहरु फिका बने आमाको त्यागको अगाडि।
आमाभन्दा उच्च के छ त भनेर खोजे आमालाई घुमाउन भनेर
सगरमाथाले पनि शिर निहुर्याइ दियो यहाँ आमालाई देखेर ।
म खोज्दै गएँ आमाको अर्थ कहिँकतै भेट्छु कि भनी
धराले भन्यो यो धर्तीमा त छैन भेट्छौँ कि आकाशमा खोज।
मलिन मुहार देखेर आमाले सोध्नुभो के भयो मलिन छौ किन
अनि बुझेँ हाँसो पछाडिको आँसु बुझ्ने भगवान हुन् आमा।
मायाको सागर, करुणाको भण्डार, उपदेशकी खानी हुन् आमा
आमा विशाल धर्ती हुन् कयौँ चोट भारलाई सहन गर्न सक्ने।
नबिझाए, नदुखाए आमाको मन जितिन्छ संसार अरु गर्नु पर्दैन
सन्तानलाई सर्वस्व ठान्ने आमालाई चिन्न माता तीर्थ कुर्नु पर्दैन।
त्यसैले पुज्नु पर्दैन देवता यहाँ आमालाई बुझेमात्रै पुग्छ
बुझ्न आमाको अर्थ खोज्नु पर्दैन अनेकौ शब्दकोष श्रद्धाले आमा भने पुग्छ। – जानुका ढुङ्गाना, अर्जुनधारा-७