काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले नेपालका तीव्र गतिका बलिङ प्रतिभाको खोजी गर्ने उद्देश्यले राष्ट्रव्यापी क्रिकेट अभियान ‘बिट द स्पीडः सिजन २’को अभियान हिजो मुलपानी क्रिकेट मैदानबाट औपचारिक सुरुवात गरेको छ।

 

राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू सोम्पाल कामी, अनिलकुमार साह, आसिफ शेख र ललित राजवंशीले संयुक्तरूपमा अभियानको शुभारम्भ गरेका हुन्। बिट द स्पीड गाडी पहिलो गन्तव्य जनकपुरतर्फ प्रस्थान गरिसकेको छ ।

 

अब लहान, राजविराज, बिर्तामोड, दमक, विराटनगर, इटहरी, बर्दिबास, मलंगवा, गौर, बीरगञ्ज, हेटौंडा, चितवन, बुटवल, भैरहवा, लुम्बिनी, पाल्पा, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, पोखराहुँदै काठमाडौं फिर्ता आउने बताइएके छ । जहाँ ग्रान्ड फिनाले आयोजना गरिने छ।

 

वर्ल्ड लिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले भने, ‘हामी युवा प्रतिभालाई अवसर दिन चाहन्छौं। धेरै युवाहरूमा प्रतिभा हुन्छ तर त्यसलाई देखाउने प्लेटफर्म हुँदैन। त्यसैले हामी देशको प्रत्येक कुनामा पुग्न यो अभियान लिएर गएका हौं। वर्ल्ड लिंक त्यो सेतु बन्न चाहन्छ, जहाँ काँचो प्रतिभा वास्तविक अवसरमा परिणत हुन्छ।’

 

अहिले सञ्चालनमा रहेको प्रारम्भिक चरणमा प्रत्येक सहरका इच्छुक तीव्र गतिका बलरहरूलाई आफ्नो क्षमता देखाउन आमन्त्रण गरिएको छ। यी सहरहरूबाट छानिएका शीर्ष १० तीव्र गतिका बलरहरूलाई काठमाडौंमा हुने ग्रान्ड फिनालेमा ल्याइनेछ, जहाँ उनीहरूलाई पूर्वराष्ट्रिय कप्तान तथा हालका नेपाल ए टोलीका प्रमुख प्रशिक्षक ज्ञानेन्द्र मल्ल र बलिङ प्रशिक्षक कलाम अलीको निगरानीमा प्रशिक्षण र मूल्याङ्कन गरिने छ।

 

ग्रान्ड फिनालेमा विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिने बताइएकाे छ । प्रथम हुनेले नगद १ लाखसहित भारतको प्रतिष्ठित क्रिकेट एकेडेमीमा ३ महिनाको प्रशिक्षणमा सहभागिता जनाउने छ । यस्तै, पहिलो उपविजेताले नगद ५० हजार पाउँदा दोश्रो उपविजेताले नगद २५ हजार पाउने छ ।

 

क्रिकेटप्रतिको लगावलाई डिजिटल कनेक्सनको उद्देश्यसँग जोड्दै, वर्ल्ड लिंकको बिट द स्पीड अभियानले स्थानीय समुदायलाई सक्रिय बनाउने, उदाउँदा खेलाडीहरूलाई सशक्त बनाउने र नेपालको आगामी पुस्ताका क्रिकेट स्टारहरूका सपना साकार पार्ने लक्ष्य लिएको बताइएकाे छ।