धनकुटा । साविक विजेता सल्हेश युवा क्लब सिरहालाई पहिलो खेलमा रोक्दै बिर्तामोड युनाइटेड एफसी झापा यहाँ जारी १२औँ राजारानी (रारा) गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

 

बिर्तामोड टाइब्रेकरमा भाग्यमानी सावित भएको हो । रारा एफसी धनकुटाले आयोजना गरेको प्रतियोगिताको निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

 

टाइब्रेकरको नाटकीय परिणाममा बिर्तामोड २-१ गोलअन्तरमा सल्हेशलाई पराजित गर्न सफल भयो । बिर्तामोडका लागि कप्तान आशिष चापागाई र विक्रम तामाङले मात्र गोल गर्दा सल्हेशका कप्तान आदित्य शाक्यको प्रहारमात्र गोलमा परिणत भएको थियो ।

 

बिर्तामोडका अभिषेक गुरुङ, दिवश उराव, प्रशान्त लक्समको प्रहार सल्हेशका गोलरक्षक प्रदिप भण्डारीले रोकेका थिए । यस्तै, सल्हेशका जय गुरुङ र दिपेश घलेको प्रहार बिर्तामोडका गोलरक्षक अभिषेक बरालले रोक्दा आशिष गुरुङ र प्रवेश दनुवारको प्रहार बाहिरिएको थियो ।

 

खेलमा उत्कृष्ट प्रदर्शन गरेका बिर्तामोडका गोलरक्षक अभिषेक बराल प्लेयर अफ दी म्याच भए । उनले नगद ७ हजार ५ सय पाए । फाइनल खेलको विजेताले नगद ७ लाखसहित आकर्षक ट्रफी पाउने छ ।