काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डलाई राजधानी बाहिर आयोजना गर्ने घोषणा गरेको छ । २०६० सालदेखि निरन्तर आयोजना भइरहेको यस पल्सर स्पोर्ट्स अवार्डको २२औं संस्करण भदौ २९ गते पोखरामा गरिने भएको छ ।

 

मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा स्पोर्ट्स अवार्डलाई देशव्यापी फैलाउने उद्देश्यले पर्यटनको राजधानी पोखरामा अवार्ड आयोजना गर्न लागेको बताए ।

 

उनले नेपाली खेलकुदको दायरा फराकिलो भइरहेको अवस्थामा अवार्डलाई पनि देशव्यापी लैजाने उद्देश्य राखेको दाबी गरे । पोखराले भ्रमण वर्ष २०२५ मनाइरहेकाले स्पोर्ट्स अवार्ड पोखरा लैजान लागेको अध्यक्ष अधिकारीले बताए ।

 

अवार्डका लागि प्रमुख प्रायोजक गोल्छा ग्रुप र मञ्चबीच प्रायोजन सम्झौता पनि भएको छ । त्यसका लागि गोल्छा ग्रुपका निर्देशक अभिमन्यू गोल्छा र मञ्चका अध्यक्ष अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

 

मञ्च र गोल्छा ग्रुपबीच स्पोर्टस अवार्डकै लागि सहकार्य भएको यो १७औं वर्ष हो । यस वर्ष प्रायोजनलाई पुनः नवीकरण गर्दै ५ वर्षे सम्झौता भएको जनाइएको छ ।

 

मञ्चका महासचिव अञ्जन खड्काले यस वर्ष पनि पल्सर स्पोर्ट्स अवार्डमा १० विधा नै समावेश गरिएको जानकारी गराए । वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट र टिम अफ दी इयर अवार्ड विधा रहनेछ ।