ताप्लेजुङ । पाँचथरको फिदिम स्पोर्टिङ क्लबमाथि गोल वर्षा गर्दै सिराहाको सलहेश युवा क्लब यहाँ जारी ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सलहेशको जितसँगै सेमी समिकरण पनि पूरा भएको छ ।
भानुजन माविको मैदानमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा सलहेशले ६-० गोलको फराकिलो जित दर्ता गरेको हो । खेलको ५ मिनेटमै विदेशी खेलाडी सोडिया एडमको गोलबाट अग्रता बनाएको सलहेशले पहिलो हाफमा ४ गोल गरेको थियो ।
खेलको ३५औँ मिनेटमा सुजित बढाथोकीले गोल गर्दै सलहेशको अग्रता दोब्बर बनाए । यस्तै अर्का विदेशी खेलाडी युसुफ मलिकले ३७औँ र ६६औँ मिनेटमा गोल गर्दा मोहित गुरुङले ८०औँ मिनेटमा गोल गरेका थिए ।
फिदिमका जंग खड्काले खेलको ४२औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । खेलको प्लेयर अफ दी म्याच दुई गोल गरेका सलहेशका युसुफ मलिक भए । उनले नगद ७ हजार पाए ।
लाखे जात्रा सञ्चालन समितिले आयोजना गरेको गोल्डकपमा भोलि पहिलो सेमिफाइनल खेल चर्च ब्वाइज युनाइटेड क्लब ललितपुरले इटहरीको द योङ ब्रदर्स एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८२ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले ३ लाख ५२ हजार ८२ रुपैयाँसहित ट्रफी पाउनेछ । सर्वोकृष्ट खेलाडीलाई मोटरसाइकल दिइेने आयोजकले जानकारी दिएको छ ।