ताप्लेजुङ । विदेशी खेलाडीसहित मैदान उत्रिएको सिराहाको सलहेश युवा क्लब दोस्रोपटक ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

 

भानुजन माविको मैदामा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा झापाको रेड स्टार फुटबल क्लबमाथि २-० गोलकाे स्पष्ट नतिजा निकालेर सलहेश उपाधि नजिक पुगेको हो । गतवर्षको संस्करणमा पनि सलहेश फाइनल पुगेर उपविजेतामा समेटिएको थियो ।

 

सलहेशको फाइनल यात्रामा अफ्रिकन खेलाडी युसुफ मलिकले नै दुवै गोल गरेका हुन् । खेलको १३औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका युसुफले खेलको ४८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा नाम दर्ता पनि गराएका छन् ।

 

खेलको प्लेयर अफ दी म्याच सलहेशका गोलकर्ता युसुफ बने । उनले नगद ७ हजार पाए । पहिलो खेलमा पनि दुई गोल नै गरेका युसुफ दोस्रोपटक प्लेयर अफ दी म्याच बनेका हुन् ।

 

जितसँगै सलहेशले ललितपुरको चर्च ब्वाइज युनाइटेड एफसीसँग शनिबार उपाधिका लागि फाइनल खेल खेल्नेछ । तेस्रो संस्करणको च्याम्पियन टोलीले नगद ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ सहित ट्रफी पाउने छ ।

 

लाखे जात्रा सञ्चालन समितिले आयोजना गरेको गोल्डकपको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छ भने अन्य विधागत पुरस्कारको व्यवस्था पनि रहेको जनाइएको छ ।