ताप्लेजुङ । तेश्रो ताप्लेजुङ गोल्डकपमा ३२ लाख रुपैयाँभन्दा बढीको टिकट बिक्री भएको छ । साउन २४ गतेदेखि ३१ गतेसम्म सम्पन्न प्रतियोगितामा ३२ लाख ४६ हजार सात सय रूपैयाँको टिकट बिक्री भएको हो ।
लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित प्रतियोगितामा यसवर्ष टिकट बिक्री ठेक्का प्रक्रियामार्फत गरिएको थियो । समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार क्वाटरफाइनलमा नौ लाख ६१ हजार पाँच सय, सेमिफाइनलमा सात लाख ८५ हजार दुई सय र फाइनलमा १५ लाख रुपैयाँको टिकट बिक्री भएको थियो ।
समितिले क्वाटरफाइनलका लागि एक सय, सेमिफाइनमा दुई सय र फाइनलका लागि २५० रुपैयाँ टिकट दर निर्धारण गरेका थियो । टिकट काटेर मैदान प्रवेशका गरेका दर्शकलाई हरेक दिन गोलाप्रथाद्वारा एउटा स्मार्ट मोबाइलसमेत उपलब्ध गराइएको थियो ।
गोल्डकपको उपाधि गतवर्षको उपविजेता मधेश प्रदेशको सलहेश युवा क्लब सिराहाले चुमेको थियो । विजेता बनेसँगै सिराहाले नगद ७ लाख २ हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । चर्च ब्वाइज युनाइटेड ललितपुर उपविजेतामा सीमित बन्दै ३ लाख ५० हजार पाउन सफल भयो ।