मेचीनगर । झापाको मेचीनगर १५ स्थित ज्यामिरगढीमा असोज ३ गतेदेखि अन्तर्राष्ट्रिय आमन्त्रण त्रिवेणी च्यालेन्ज कप २०८२ हुने भएको छ ।

 

आयोजक त्रिवेणी युवा क्लब१५ ले आइतबार धुलाबारीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । स्थानीय ज्यामिरगढी माविको मैदानमा हुने प्रतियोगितामा भारतका दुई टोलीसहित आठ वटा टोलीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष विदुुरसिंह खवासले जानकारी दिए ।

 

जसमा आयोजक त्रिवेणी युव क्लब, झापा एफसी, बेलबारी फुटबल क्लब मोरङ, सैनिक फुटबल क्लब, रेडहर्स फुटबल क्लब इलाम, ब्रदर फुटबल क्लब दमक र भारतको यूकेएफसी खर्साङ र मानेभञ्याङ फुटबल क्लब दार्जीलिङले सहभागिता जनाउने पक्का भएको छ ।

 

प्रतियोगिताको विजेताले नगद २ लाखसहित आकर्षक ट्रफी पाउँदा उपविजेताले नगद १ लाखमा चित्त बुझाउनु पर्नेछ । यस्तै, अन्य विधागत पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका सचिव मनिष गहतराजले बताए ।

 

प्रतियोगितामा सम्पन्न गर्न २० लाख रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ । २०५३ सालमा स्थापना भएको क्लब बीचमा विविध कारणले चलायमान नभएपछि पुनः खेलको माध्यमबाट यसलाई पुनः ब्यूँताउन खोजिएको बताइएको छ ।