झापा । बिर्तामोडको पूर्वेली युवा क्लब बुद्धशान्ति गाउँपालिका १ स्थित त्रिभुवन माविको मैदानमा जारी तेस्रो होक्से च्यालेञ्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा मोरङ बेलबारी एफसीलाई ३-१ गोलअन्तरले पराजित गर्दै बिर्तामोडले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । बिर्तामोडको जितसँगै सेमी समिकरण पनि पूरा भएको छ ।
बिर्तामोडका लागि आयुश राईले दुई गोल गर्दा कप्तान आशिष चापागाईंले थप गोल गरेका हुन् । बेलबारीका लागि विवेक पौडेलले सान्त्वना गोल फकाए । बिर्तामोडले शनिश्चरे एफसीसँग अन्तिम सेमिफाइनलमा भेट पक्का गरेको छ ।
बिर्तामोडका आयुश राई प्लेयर अफ दी म्याच बन्दै नगद एक हजार पाँच सय पाउन सफल भए । बुधबार आयोजक होक्से युवा क्लब र हिमाली युनाइटेड क्लब भद्रपुरबीच पहिलो सेमिफाइन खेल हुनेछ ।
होक्से युवा क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल असोज ११ गते हुनेछ । च्याम्पियन बन्ने टिमले नगद १ लाखसहित आकर्षक ट्रफी पाउँदा उपविजेताले नगद ५० हजारमा चित्त बुझाउनु पर्नेछ ।