काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङले आज काठमाण्डौको कीर्तिपुरमा निर्माणाधीन त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेका छन् ।

 

मैदानको निरीक्षणपछि मन्त्री घिसिङले सञ्चारकर्मीसँग कुरा गर्दै पहिलो चरणको काम लगभग सकिएको पाएको बताए । फ्लड लाइट राख्ने काम एक महिनाभित्र सक्ने प्रतिबद्धता आएको पनि उनले जानकारी दिए ।

 

मन्त्री घिसिङले झन्डै १२ हजार दर्शक बसेर हेर्न मिल्ने प्यारापिट बनेको र मैदानको सम्पूर्ण काम सकिँदा २५ देखि ३० हजार दर्शक अट्न सक्ने उल्लेख गरेका छन् ।

 

राष्ट्रिय प्राथमिकतामा राखेर काम अघि बढाउने बताउँदै घिसिङले नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेट अगाडि सबै काम सक्न पनि निर्देशन दिए । दोस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर १ गतेदेखि शुरू हुँदैछ ।

 

यस्तै नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले मैदान बन्ने क्रममा रहेको र एनपीएलका लागि भनेर काम धमाधम भइरहेको बताए । उनले फ्लड लाइट नेपाल आइसकेको र जडान गर्नमात्रै बाँकी रहेको पनि जानकारी दिए ।