झापा । एशियाली फुटबल महासङ्घ (एएफसी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई २ हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

 

एशिया कप छनोट तेस्रो चरण अन्तर्गत मलेशियासँगको खेलमा नेपाली खेलाडीहरू मैदानमा ढिला प्रवेश गरेको भन्दै एएफसीको डिसिप्लिनरी तथा इथिक्स कमिटीले एन्फालाई जरिवाना गरेको हो ।

 

कमिटीको यही डिसेम्बर १५ मा बसेको बैठकको निर्णयअनुसार मलेशियासँगको खेलमा नेपाल पहिलो हाफमा १ मिनेट २० सेकेन्ड र दोस्रो हाफमा १ मिनेट ३० सेकेन्ड ढिला गरी मैदानमा प्रवेश गरेको थियो ।

 

यस्तै, यो खेलमा मलेशियाका खेलाडीहरू पनि मैदानमा ढिला प्रवेश गरेको भन्दै एएफसीले मलेशिया फुटबल सङ्घलाई २ हजार ५ सय डलर जरिवाना गरेको छ ।

 

यसैगरी मलेशियाले खेलपछिको पत्रकार सम्मेलनमा प्लेअर अफ द म्याच बनेका मोहम्मद फैसल बिन अब्दुल हलिमलाई उपस्थित नगराएको भन्दै मलेशिया फुटबल सङ्घ र आग्रह गर्दा पनि सहभागी नभएको भन्दै हलिमलाई १०-१० हजार डलर जरिवाना तोकेको छ ।

 

एएफसीले निर्णय भएको ३० दिनभित्र जरिवाना तिर्नुपर्ने उल्लेख गरेको छ । गएको नोभेम्बर १८ मा मलेशियामा भएको यो खेलमा नेपाल १-० ले पराजित भएको थियो ।