बिर्तामोड । नियमित खेल अभ्यास गर्ने खेलाडीलाई कनकाई नगरपालिका र कनकाई नगरपालिका ४ नम्बर वडा कार्यालयले खेल सामग्री प्रदान गरेको छ । प्रस्तावित कनकाई नगरपालिकाको रङ्गशालामा अभ्यास गर्ने खेलाडीलाई सामग्री प्रदान गरिएको हो ।
झापा कनकाई ४ स्थित बुद्धचौकमा रहेको कनकाई माविको खेल मैदानलाई कनकाई नगरपालिकाले आफ्नो नगरको प्रस्तावित रङ्गशालाका रुपमा विकास गर्दै लगिरहेको छ ।
संघीय सरकारबाट त्यस क्षेत्रमा कभर्डहल निर्माण सम्पन्न भइसकेको छ । प्रदेश सरकारबाट घेराबारा, नगरपालिका र वडा कार्यालयबाट समेत यस खेल मैदानलाई स्तर उन्नति भइरहेको कनकाई नगर खेलकुद विकास समितिका सदस्य तुलाराराम विकले बताए ।
यसैबीच, कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, ४ नम्बरका वडाध्यक्ष रोशन सुवेदीले यहाँका खेलाडीलाई २४ थान फु्टबल, ग्लोब, फुटबल नेट, कोन, सिटी, मार्कर लगायातका खेल सामग्रीहरु प्रदान गरे । खेलाडीका लागि प्रशिक्षकको समेत व्यवस्था नगरले गरेको नगर प्रमुख पोखरेलले बताएका छन् ।