फिदिम । उधौली पर्व अर्थात् चासोक तङनामका अवसरमा फिदिममा आयोजित आठौँ सुम्हात्लुङ मिनी म्याराथनमा ताप्लेजुङका अमिर तेङवुङ र पाँचथरकी पुष्पा सेर्मा लिम्बू प्रथम भएका छन् ।

 

पुरुषतर्फ ९ दशमलव ३ किलोमिटर दूरी अमिरले २२ मिनेट र महिलातर्फको ५ दशमलव २ किलोमिटर दूरी पुष्पाले १९ मिनेटमा पार गरेका थिए । २९ मिनेटमा दौड पूरा गर्दै पाँचथर मिक्लाजुङका ओसन राई दोस्रो र ताप्लेजुङ फक्ताङलुङका रमेश लिम्बू ३० मिनेटमा दूरी पार गरेर तेस्रो भए ।

 

महिलातर्फ पाँचथर फाल्गुनन्द गाउँपालिकाकी कृतिका नेम्वाङ २० मिनेटमा दोस्रो र २० मिनेट ३० सेकेण्डमा दूरी पार गरेकी फिदिमकी मेन्छोमा तुम्वापो तेस्रो भइन् ।

 

प्रतियोगितामा पुरुषतर्फ ४० र महिलातर्फ १६ जनाको सहभागिता थियो । पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रोले क्रमशः ३०, २० र १० हजार तथा महिलातर्फ पहिलो, दोस्रो र तेस्रोले क्रमशः १५, १० र पाँच हजार रुपैयाँ पुरस्कारसहित ट्रफि पाए ।

 

फिदिम नगरपालिका-४ स्थित ऐतिहासिकस्थल सुम्हात्लुङ गढीदेखि सुरु गरिएको म्याराथन, क्याम्पसमोड-जोरसाल, पल्लोटारबसपार्क, शनिबारे, जिल्ला प्रहरी कार्यालय र वेलफेयर डॉडाहुँदै गडी मन्दिरमै पुगेर सकिएको थियो ।