खेजेनिम (ताप्लेजुङ) । मैवाखोला गाउँपालिकाको जनआदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघु र सिदिङ्वा गाउँपालिका ७ को लालीगुराँस युथ स्पोर्टिङ क्लब सुरूम्खिम फक्ताङलुङ गाउँपालिका २ स्थित आहाले खेलमैदानमा जारी प्रथम मानाभारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा सिँवा स्पोर्टिङ क्लब लिङ्खिमलाई ४-० गोलअन्तरमा पराजित गर्दै सुरुम्खिम सेमिफाइनल प्रवेश गरेको हो । सहज जित निकालेको सुरुम्खिमका लागि दिपेश लिम्बूले ह्याट्रिक पूरा गरे । उनले खेलको ४८, ५१ र ८१औँ मिनेटमा ह्याट्रिक पूरा गरेका हुन् । यसअघि खेलको २८औँ मिनेटमा हिटेन लिम्बूले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए ।
आजै भएको दोस्रो खेलमा जिल्ला बाहिरको एकमात्र पाहुना टोली रामेछापको लिखु भुजी युथ क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै जनसेवा आदर्श युवा क्लब ढुंगेसाँघु अन्तिम चारमा प्रवेश गरेको हो ।
पहिलो हाफमै रामेछापका कप्तानले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि ८ खेलाडीमा सीमित बनेको थियो । तर, सुरुवाती अग्रता ४१औँ मिनेटमा रामेछापका पवन भट्टराईले बनाएका थिए ।
खेलको ५९औँ मिनेटमा विशाल लिम्बूले गोल गर्दै ढुंगेसाँघु खेलमा फर्कियो । यसैगरी, ६९औँ मिनेटमा ढुंगेसाँघुकै सुरेन्द्र लिम्बूले गोल गरेर जित सुनिश्चित गराए । उनी खेलको प्लेयर अफ दी म्याच बने ।
यसअघिको खेलमा ह्याट्रिक पूरा गरेका दिपेश लिम्बू प्लेयर अफ दी म्याच बनेका थिए । दुवै जना खेलाडीले नगद २ हजार ५ सयसहित ट्रफी प्राप्त गरे । भोलि अन्तिम क्वाटरफाइनल खेल फुङ्लिङ नगरपालिका ९ हाङ्देवाको नवप्रयास युनाइटेड क्लब र मेरिङ्देन गाउँपालिकाको प्रगतिशील युथ क्लब लिङ्तेपबीच हुनेछ ।
मानाभारा युथ स्पोर्टिङ क्लबले आयोजना गरेको गोल्डकपको फाइनल पुस १९ गते हुनेछ । प्रतियोगिताको विजेताले तीन लाख दुई हजार ८२ रुपैयाँ र उपविजेताले एक लाख ५२ हजार ८२ रुपैयाँसहित ट्रफी पाउने छ ।