अर्जुनधारा (झापा) । बुद्धशान्ति गाउँपालिका अर्जुनधारामा जारी झापा जिल्ला पालिकास्तरीय यू-१८ फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अर्जुनधारा खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइनलमा उपाधिको दाबेदार मानिएको शिवसताक्षी नगरपालिकालाई ६-५ गोलअन्तरले पराजित गर्दै बुद्धशान्तिले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
बुद्धशान्तिको जितमा गोलकिपर रिजन ल्वागुन लक्की सावित भए । खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । तर, खेल दौरानमा शिवसताक्षीले पाएको दुई वटा पेनाल्टी गोलकिपर रिजनले रोकेका थिए ।
सडनडेथमा जित निकाल्ने क्रममा पनि शिवसताक्षीको तीन वटा प्रहार रोकेका रिजन ल्वागुन प्लेयर अफ दी म्याच बन्दै नगद २ हजार ५ सयसहित ट्रफी पाउन सफल भए ।
बुद्धशान्तिका लागि अनिल गिरी, मनिष केदेम, समिर लिम्बू, सन्दिप लिम्बू, समिर मादेनको प्रहारमात्र गोलमा परिणत भएको थियो भने सुजन तामाङ, आदित्य केरुङ र सुरज मावो लिम्बूको प्रहार शिवसताक्षीका गोलकिपर टिकाराम रसाइलीले रोकेका थिए ।
यसैगरी, शिवसताक्षीका लागि गोलकिपर रसाइली, प्रनिष मगर, अनमोल माझी, सुजन तामाङ र सुवोत लिम्बूको प्रहारमात्र गोलमा परिणत भएको थियो । आयुश भट्टराईको प्रहार साइड पोलमा लाग्दै बाहिरिँदा सनम कडरिया, लविस फागो र अतित कार्कीको प्रहार बुद्धशान्तिका गोलकिपर रिजन ल्वागुनले रोकेका थिए ।
शनिश्चरे फुटबल क्लबको आयोजना तथा अर्जुनधारा नगर खेलकुद विकास समितिको सहआयोजनामा भएको प्रतियोगितामा भोलि (बुधबार) अर्जुनधारा नगरपालिकाले मेचीनगर नगरपालिकासँग तेस्रो क्वाटरफाइनल खेल खेल्नेछ ।
प्रतियोगिताको फाइनल खेल माघ १९ गते हुनेछ । ९ वटा पालिकाको टिम सहभागी रहेको प्रतियोगिताको विजेताले नगद १ लाखसहित आकर्षक ट्रफी पाउने छ । उपविजेताले नगद ५० हजारमा चित्त बुझाउनु पर्नेछ ।
सर्वोत्कृष्ट बन्ने खेलाडीले नगद ७ हजार पाउँदा विधागत विजेता खेलाडीले जनही ५-५ हजार पाउने प्रतियोगिताका संयोजक टेकराज तिलिङले जानकारी दिए ।