अर्जुनधारा (झापा) । यहाँ जारी झापा जिल्ला पालिकास्तरीय यू-१८ फुटबलमा अर्जुनधारा नगरपालिकालाई रोक्दै मेचीनगर सेमिफाइनलमा प्रवेश गरेको छ ।
अर्जुनधारा ७ स्थित खेलमैदानमा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा आयोजकको टोली अर्जुनधारालाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गर्दै मेचीनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
घरेलु समर्थकको साथमा उसैको घरेलु मैदानमा बाजी मार्न मेचीनगरका राजु दर्जी, इन्सास लिम्बू, कप्तान आदित्य ढुंगेल र सुजल धिमालको प्रहार गोलमा परिणत भएको थियो ।
अर्जुनधाराका लागि साहिल खड्का र अर्पित मगरको प्रहार गोलमा परिणत हुँदा बुद्ध चौधरी र निश्चल भण्डारीको प्रहार मेचीनगरका गोलरक्षक युक्तेन लिम्बूले रोकेका थिए । लिम्बू प्लेयर अफ दी म्याच बन्दै नगद २ हजार ५ सयसहित ट्रफी पाउन सफल भए ।
खेलको ३३औँ मिनेटमा मेचीनगरका सञ्जय हेमरम दोहोरो पहेँलो कार्डपछि रेड कार्ड पाउँदै मैदान बाहिरिए पनि अर्जुनधाराको टोलीले फाइदा लिन सकेन । मेचीनगर खेल अवधिभर ४५ मिनेट १० खेलाडीमा सीमित भएको थियो ।
शनिश्चरे फुटबल क्लबको आयोजना तथा अर्जुनधारा नगर खेलकुद विकास समितिको सहआयोजनामा भएको प्रतियोगितामा भोलि (बिहीबार) भद्रपुर नगरपालिकाले कनकाई नगरपालिकासँग अन्तिम क्वाटरफाइनल खेल खेल्नेछ ।
प्रतियोगिताको फाइनल खेल माघ १९ गते हुनेछ । ९ वटा पालिकाको टिम सहभागी रहेको प्रतियोगिताको विजेताले नगद १ लाखसहित आकर्षक ट्रफी पाउने छ । उपविजेताले नगद ५० हजारमा चित्त बुझाउनु पर्नेछ ।
सर्वोत्कृष्ट बन्ने खेलाडीले नगद ७ हजार पाउँदा विधागत विजेता खेलाडीले जनही ५-५ हजार पाउने प्रतियोगिताका संयोजक टेकराज तिलिङले जानकारी दिए ।