अर्जुनधारा (झापा) । भद्रपुर नगरपालिकालाई सहजै पराजित गरेर मेचीनगर नगरपालिका यहाँ जारी झापा जिल्ला पालिकास्तरीय यू-१८ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

 

अर्जुनधारा खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा मेचीनगरले २-० गोलअन्तरको जित निकालेको हो । मेचीनगरको जितका लागि खेलको २८औँ मिनेटमा नयन प्रधानले गोल गर्दै अग्रता दिलाएका थिए ।

 

एकोहोरो दबाब सिर्जना गरेको मेचीनगरका लागि फेरि नयन प्रधानले व्यक्तिगत दोस्रो गोल गरे । विपक्षी गोलकिपर अघि बढेको मौकामा खेलको ६७औँ मिनेटमा उनले अग्रता दोब्बर बनाएका हुन् । उनी प्लेयर अफ दी म्याच बन्दै नगद २ हजार ५ सय पाउन सफल भए ।

 

मेचीनगरले माघ १९ गते बुद्धशान्ति गाउँपालिकासँग उपाधि भिडन्तमा भेट पक्का गरेको छ । बुद्धशान्ति गाउँपालिकाले कमल गाउँपालिकालाई पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको हो ।

 

शनिश्चरे फुटबल क्लबको आयोजना तथा अर्जुनधारा नगर खेलकुद विकास समितिको सहआयोजना रहेको छ । ९ वटा पालिकाको टिम सहभागी रहेको प्रतियोगिताको विजेताले नगद १ लाखसहित आकर्षक ट्रफी पाउने छ । उपविजेताले नगद ५० हजारमा चित्त बुझाउनु पर्नेछ ।

 

सर्वोत्कृष्ट बन्ने खेलाडीले नगद ७ हजार पाउँदा विधागत विजेता खेलाडीले जनही ५-५ हजार पाउने प्रतियोगिताका संयोजक टेकराज तिलिङले जानकारी दिए ।