जोरपोखरी । पाँचथरको हिलिहाङ ६ स्थित जोरपोखरी माविको खेलमैदानमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित फिदिम भेट्रान्स गोल्डकपमा आज भएको खेलबाट इलाम र झापाको टोली सेमिफाइनलमा प्रवेश गरेका छन् ।

 

पहिलो खेलमा फेमे गुरु भेट्रान्सले फाक्तेप भेट्रान्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । इलामको जितमा २-० गोलको नतिजा निस्किएको थियो । जसमा विकास तामाङले खेलको २१औँ मिनेट र दिवश राईले ४७औँ मिनेटमा गोल गरेका हुन् । विकास प्लेयर अफ दी म्याच बन्दै नगद २ हजार ५ सय पाउन सफल भए ।

 

यस्तै, दोस्रो खेलमा झापाको रेड स्टार एफसीले सुनसरीको धराने ब्रदर्समाथि ३-१ गोलले जित दर्ता गरेको हो । खेलको १५औँ मिनेटमा बाबुराम धिमालले गोल गर्दै अग्रता दिलाएका थिए ।

 

त्यसपछि खेमराज पोख्रेलले खेलको १८औँ र ३०औँ मिनेटमा गोल गरेर फराकिलो अन्तर निकालेका थिए । खेलको अन्त्यतिर सुनसरीका खेम लिम्बूले सान्त्वना गोल फर्काए । खेलको प्लेयर अफ दी म्याच झापाका दुई गोलकर्ता खेमराज पोख्रेल भए । उनले नगद २ हजार ५ सय पाए ।

 

भोलि दुवै सेमिफाइनल खेल हुनेछन् । पहिलो खेल आयोजक फिदिम भेट्रान्सले आठराई भेट्रान्स तेह्रथुमसँग भिड्ने छ भने अन्तिम सेमिफाइनल खेलमा झापाले इलामसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

 

फाइनल खेल चैत २८ गते हुनेछ । गोल्डकपमा ८ टोली सहभागी छन् । विजेताले नगद १ लाख २५ हजारसहित ट्रफी पाउने छ भने उपविजेताले नगद ७५ हजारमा चित्त बुझाउने छ ।