संक्रान्ति बजार । पाँचथर याङवरक ५ को दारिम्बा एफसी तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारमा आयोजित ऐतिहासिक आठराई मदन मेला २०८३ महिलातर्फको फुटबलमा च्याम्पियन बनेको छ ।
त्रिमोहन माविको नयाँ खेलमैदानमा आज भएको फाइनल खेलमा साविक विजेता म्याङलुङ स्पोर्टिङ क्लबलाई १-० गोलको नतिजाबाट पाखा लगाउँदै दारिम्बा एफसी पाँचथरले उपाधिमाथि कब्जा जमाएको हो ।
दारिम्बा एफसीका लागि निर्णायक गोल इक्सा लिम्बूले गरेकी थिइन् । उनी प्लेयर अफ दी म्याच बन्दै नगद २ हजार पाउन सफल भइन् । खेलको सर्वोत्कृष्ट खेलाडी म्याङलुङकी अस्मिता गुरूङ एलएक्स भइन् ।
यसैगरी, उत्कृष्ट गोलरक्षक दारिम्बाकी अस्मिता लिम्बू भइन् भने दारिम्बाकै प्रजिता राई सर्वाधिक गोलकर्ता बनिन् । म्याङलुङकी मनिता तामाङ उत्कृष्ट रक्षक भइन् । उनीहरूले जनही २ हजार ५ सय र ट्रफी पाए ।
च्याम्पियन बनेको दारिम्बा एफसी पाँचथरले रनिङ ट्रफीसहित नगद १ लाख ११ हजार १११ पाएको छ । उपविजेता म्याङलुङ स्पोर्टिङले नगद ५५ हजार ५५५ सहित ट्रफीमा चित्त बुझायो ।
उनीहरूलाई आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम, उपाध्यक्ष बलिराज इङनाम, मेला सञ्चालन समितिका अध्यक्ष टासी लामा, खेल संयोजक कालु लामालगायतले पुरस्कार प्रदान गरेका थिए ।
पुरूषतर्फको खेल भने अविरल वर्षाका कारण स्थगित भएको छ । फाइनल खेलका प्रतिस्पर्धी संखुवासभाको टोली र सोधुङ सेन्दाङबीच भोलि १२ बजे खेल हुनेछ । विजेताले नगद ३ लाख ११ हजार १११ सहित ट्रफी पाउने छ ।