बिर्तामोड । झापाको बिर्तामोडमा जारी चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगितामा आज भएको अन्तिम क्वाटरफाइनल खेलबाट आयोजक सेतो सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

डोमालाल राजवंशी रंगशालामा भएको खेलमा मेचीनगर भेट्रान्सलाई ३-० गोलले पराजित गर्दै आयोजक सेतोले अन्तिम चारमा स्थान पक्का गरेको हो । जितसँगै उसले दमक भेट्रान्ससँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

 

बिर्तामोड भेट्रान्स सेतोका लागि भूपेन लिम्बूले एक गोल गरे भने अंकुर खड्गीले दुई गोल गरेका हुन् । खेलको प्लेयर अफ दी म्याच आयोजकका अंकुर खड्गी भए । उनले नगद १ हजार ५ सयसहित ट्रफी प्रदान गरेका थिए ।

 

१० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १ लाख १ हजारसहित ट्रफी पाउनेछ भने उपविजेताले नगद ५१ हजारमा चित्त बुझाउनु पर्नेछ । बिर्तामोड भेट्रान्स एफसीका अध्यक्ष किरण थापाका अनुसार भोलि दुवै सेमिफाइनल खेल हुनेछ ।

 

पहिलो सेमिफाइनल खेलमा आयोजक निलोले चन्द्रगढी भेट्रान्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको प्रथम पुरस्कार फुटबलप्रेमी नेत्रनारायण श्रेष्ठले प्रायोजन गरेका हुन् ।