शनिश्चरे । अर्जुनधारा वडा नम्बर ११ नगर खेलकुद विकास समितिले आयोजनामा गरेकाे वडास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

अर्जुनधारा-९ स्थित नमुना खेलमैदानमा भएको खेलमा वडा नम्बर ४ माथि ४-० गोलको फराकिलो अन्तरमा पराजित गर्दै अर्जुनधारा ११ ले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । ११ नम्बर वडाका लागि रोहन राईले खेलको १९औँ र २८औँ मिनेटमा गोल गरेका हुन् ।

 

यसैगरी, कप्तान प्रदिप प्रधानले ३२औँ र जेनिश घिमिरेले ५४औँ मिनेटमा गोल गरेर सेमिफाइनल यात्रा तय गराएका हुन् । व्यक्तिगत दुई गोल गरेका रोहन राई प्लेयर अफ दी म्याच बने । उनले नगद १ हजार ५ सय पाए ।

 

उनलाई नगर उपप्रमुख खड्गमाया पराजुली, ११ नम्बरका वडाध्यक्ष खगेन्द्र इङनाम, वडा सदस्यहरु पूर्णबहादुर राई, केशव अधिकारी, खेलकुद समितिका अध्यक्ष सुरेन्द्र धिमाल, सचिव खगेन्द्र लिङदेन र कराते प्रशिक्षक विक्रम मेचेले नगदसहित ट्रफी प्रदान गरेका थिए ।

 

मंगलबार वडा नम्बर ५ र वडा नम्बर २ बीच प्रतिस्पर्धा हुनेछ । स्थानीय गोलधाप युवा क्लब सहआयोजक रहेको प्रतियोगिताको विजेताले नगद ५० हजार तथा उपविजेताले ३० हजार रुपैयाँसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ ।