झापा । शनिश्चरे एफसी झापाको बिर्तामोडमा जारी दोस्रो बिर्तामोड युनाइटेड च्यालेञ्ज कपको फाइनलमा प्रवेश गरेको छ ।

 

डोमालाल राजवंशी रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङको उर्लाबारी एफसीलाई २-१ गोलअन्तरले पराजित गर्दै शनिश्चरे उपाधि होडमा उक्लिएको हो । जितसँगै शनिश्चरेले कम्तिमा ५५ हजार ५५५ रुपैयाँ सुरक्षित गरेको छ ।

 

प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता शनिश्चरे एफसीले नै बनाएको थियो । खेलको २९औँ मिनेटमा सौरभ सुब्बाले गोल गरेका थिए । तर, गोलको खुसी राम्ररी साट्न नपाउँदै उर्लाबारीका लागि मिलन सुब्बाले बराबरी गोल गरे ।

 

करिब ३० यार्डको दूरीबाट प्रहार गरेको बल शनिश्चरेका गोलरक्षक अनुप तामाङले रोक्नै सकेनन् । शनिश्चरेले अब भोलि (शुक्रबार) हुने आयोजक बिर्तामोड युनाइटेड एफसी र बगान युथ क्लबबीचको विजेतासँग फाइनल खेल खेल्नेछ ।

 

खेलको ६८औँ मिनेटमा शनिश्चरेले फ्रिकिकमार्फत अग्रता बनायो । अनुभवी खेलाडी देवेन्द्र तामाङले प्रहार गरेको बलले सोझै जाली चुमेको थियो । देवेन्द्रको सम्झनलायक फ्रिकिक नै शनिश्चरेका लागि फाइनल यात्रा तय भएको हो ।

 

उनी खेलको प्लेयर अफ दी म्याच बने । उनले नगद ३ हजार पाए । उनलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, आयोजक क्लबका अध्यक्ष भूपेन लिम्बू, खेल संयोजक अनिष सुवेदीलगायतले पुरस्कार वितरण गरे ।

 

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ सहित ट्रफी पाउने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र ट्रफी प्राप्त गर्ने क्लबका सचिव सन्तोष राईले जानकारी दिए ।

 

यसैगरी, अन्य विधागतर्फ उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीलाई नगद पाँच हजार रुपैयाँ र ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।