झापा (एजेन्सी) । कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप –२०२६ को शानदार सुरुवात गरेको छ । मेस्सीको ह्याट्रिकसँगै

 

अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान भएको खेलमा अल्जेरियालाई ३-० ले पराजित गर्दै अर्जेन्टिनाले शानदार सुरुवात गरेको हो । अर्जेन्टिनाका लागि सबै गोल कप्तान मेस्सीले गरे । छैटौं पटक विश्वकप खेलेका मेस्सीले पहिलोपटक ह्याट्रिक पूरा गरेका हुन् ।

 

उनले खेलको १७औं, ६०औं र ७६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । खेलको सुरुवातमै मेस्सी एक गोल गरे पनि अफसाइडका कारण मान्यता पाएको थिएन । यस्तै अफसाइडका कारण अल्जेरियाका खेलाडीले गरेको एक गोलले पनि मान्यता पाएको थिएन ।

 

यो जितसँगै अर्जेन्टिनाले ३ अंक जोड्दै समूह जे मा शीर्ष स्थानमा उक्लिएको छ । यो ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरेका छन् । विश्वकपमा १६ गोल गर्दै मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको कीर्तिमान बराबरी गरेका हुन् ।

 

सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेस्सीले अल्जेरियाविरुद्ध खेलेपछि छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए । उनले सन् २०१० को विश्वकपबाहेक पाँच विश्वकपमा गोल गरेका छन् ।

 

चार वर्षअघि कतारमा मेस्सीले आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताएका थिए । यस्तै विश्वकपमा मेस्सीले कीर्तिमानी २७औं खेल खेलेका छन् ।