झापा । बंगलादेशसँगको अर्को साता सुरु हुने दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले २५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गर्दा झापाका २ र इलामका २ जना खेलाडी पनि परेका छन् । नियमित खेलाडीलाई कोरोना संक्रमण र चोटका कारण यसपटक ८ नयाँ अनुहार सिनियर टोलीमा परेका हुन् ।
एरिक विष्ट
एनआरटीको मिडफिल्डमा खेल्दै आएका एरिक एन्फा एकेडेमी र बाँसबारी क्लबका उत्पादन हुन् । उनी पछिल्लो पटक प्रशिक्षणमा सहभागी हुन कोरोनाबाट संक्रमित भएका थिए । उनले उमेर समूहको राष्ट्रिय टोलीबाट खेल्दै सन् २०१८ मा भुटानमा भएको साफ यू-१८ समेत जितेका थिए ।
दिलेन लोक्ताम
जावलाखेलका डिफेन्डर दिलेनले लिगमा उच्च प्रदर्शन गरेका थिए । जावलाखेलले ठूला टोलीबाट अंक खोस्दा उनको प्रदर्शनले कालिनलाई लोभ्याएको थियो । उमेरले ३० वर्ष काटे पनि घरेलु फुटबलको अनुभव भरपूर बोकेका उनी पहिलो पटक प्रारम्भिक छनोटमा परेका हुन् ।
पुजन उपरकोटी
मनाङको मिडफिल्ड सम्हाल्दै आएका पुजनले झापा ११ बाट आफ्नो करिअर सुरु गरेका थिए । उनले च्यासलबाट बि डिभिजन खेलेपछि मनाङको यात्रा तय गरेका थिए । यू २३ उमेर समूहमा पनि उनले नेपालको प्रतिनिधित्व गरेका छन् ।
विकास खवास
१३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा टोलीका मुख्य सदस्य रहेका विकास उमेरले १९ वर्ष पुग्दैछन् । त्रिभुवन आर्मी क्लबको सिनियर टोलीमा नियमित स्थान बनाएका उनी २०७५ सालको ए डिभिजनमा उदियमान खेलाडी घोषित भएका थिए ।
दर्शन गुरुङ
ए डिभिजन लिगको उदीयमान खेलाडी दर्शन आक्रामक मिडफिल्डर हुन् । एनआरटीका लागि उत्कृष्ट प्रदर्शन गरेका उनी गतवर्ष यू-१६ टोलीबाट खेलिरहेका थिए । लिगमा उच्च प्रदर्शन गरेपछि उनी सिनियर टोलीमा परेका हुन् ।
दीप कार्की
ए डिभिजन लिगका उत्कृष्ट गोलरक्षक घोषित दीपले अघिल्लो सिजन मनाङको गोलरक्षण सम्हाले । ए डिभिजनमा पहिलो रोजाइका रुपमा सिधै मनाङबाट खेलेका उनी १३ औं दक्षिण एसियाली खेलकुदमा पनि टोलीमा रहेका थिए ।
सेसेहाङ आङदेम्बे
ए डिभिजन लिगमा आर्मीको मिडफिल्ड सम्हालेका सेसेहाङलाई नेपालको भविष्यको रुपमा हेरिएको छ । १३औं दक्षिण एसियाली खेलकुदमा टोलीमा रहेका उनले उमेर समूहमा नेपालको प्रतिनिधित्व गरेका छन् । एन्फा एकेडेमीका उत्पादन उनले नियमित आर्मीमा सिनियर फुटबल खेल्दै आएका छन् ।
छिरिङ गुरुङ
डिफेन्डर छिरिङ गुरुङ च्यासलले गत सिजन औसत प्रदर्शन गर्दाका मुख्य खेलाडीमध्ये थिए । उनी १३औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा पनि टोलीमा थिए । नेपालको उमेर समूह टोलीबाट खेल्दै आएका उनी पहिलोपटक टोलीमा परेका हुन् ।