काठमाडौं । मैत्रीपूर्ण प्रतिष्पर्धाका लागि नेपाली राष्ट्रिय फूटबल टोली बंगलादेश प्रस्थान गरेको छ। गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपाली टोली बिहीबार बंगलादेश प्रस्थान गरेको हो।

नेपाली टोलीले बंगलादेशमा एक साता बस्दा त्यहाँको घरेलु टोलीसँग दुई मैत्रिपूर्ण खेल खेल्नेछ। लामो समय पछि मैदान फर्किएको नेपाली राष्ट्रिय फूटबल टोली मैत्रिपूर्ण खेलका लागि बंगलादेश जाँदै गर्दा निकै उत्साहित देखिएको छ।

बुधबार सार्वजनिक गरिएको राष्ट्रिय टोलीमा आठ नयाँ अनुहारले स्थान बनाउँदा अभ्यासको क्रममा चोट भोगेका रोहित चन्द भने टोली बाहिर रहेका छन्। यस्तै अन्य सात खेलाडीमा कोरोना देखिएपछि ती खेलाडीको भ्रमण स्थगित भएको छ र उनीहरु आइसोलेसनमा छन्। ​दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र इलामका छिरिङ गुरुङ नयाँ जर्सी पाउँदै पहिलोपटक सिनियर टोलीमा अटाएका हुन्‌।

​मैत्रिपूर्ण खेलका लागि बुधबार गरिएको सामान्य विदाइ कार्यक्रमपछि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले एक साता अभ्यास गर्दा खेलाडीको फिटनेसमा सुधार आएको र एक साताको बंगलादेश बसाई थप फलदायी हुने अपेक्षा व्यक्त गरे।

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। कोरोनाको महामारी पछि फूटबलमा फर्किन पाउँदा खेलाडीमा उत्साह थपिएको कप्तान किरण चेम्जोङले बताएका छन्‌। तर, महामारीका बीच हुन लागेको छोटो अभ्यासले मैत्रिपूर्ण खेल निकै चुनौतिपूर्ण भएको उनी बताउँछन्‌।

यस्तै, टोलीका फरवार्ड भरत खवासले फूटबलमा फर्किन पाउँदा निकै खुसी लागेको बताए। साथै, बंगलादेश सँगको मैत्रिपूर्ण खेलले टोलीलाई अनुभव र नयाँ अनुहारलाई मैत्रिपूर्ण खेलले अनुभव दिने पनि उनको भनाइ छ। नयाँ खेलाडीमा सम्भावना भएको भन्दै टोलीले मैत्रिपूर्ण खेलमा सुखद नतिजा निक्लिने विश्वास खवासले व्यक्त गरेका छन्‌।​​

अखिल नेपाल फूटबल संघ (एन्फा) ले प्रस्थान गर्नुअघि टोलीका सदस्यलाई कोरोना लागे, नलागेको थाहा पाउन पीसीआर परिक्षण गरेको थियो। दुई खेलाडी संक्रमित रहेको नतिजा आएको थियो। टोलीले बंगलादेशमा एक साता बिताएपछि मात्रै मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।