झापा । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बंगलादेशको ढाकामा शुक्रबार भएको पहिलो मैत्रीपूर्णमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको हो ।

बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई जित दिलाउन मोहमद नाबिब नवज जीवन र मबुबुर रहमानले एक एक गोल गरे ।

पहिलो हाफको १० औं मिनेटमा मोहमद नाबिबले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले साद उदीनको क्रसमा वान टचमा गोल गरेका थिए ।

त्यसपछि खेलको ८० औं मिनेटमा रहमानले गोल गर्दै बंगलादेशलाई २-० को जित दिलाए । नेपाल भने घरेलु टिमविरुद्ध उत्कृष्ट अवसर बनाउन चुकेको थियो । तर, तीन खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

राष्ट्रिय टिममा विकास खवास, एरिक बिष्ट र दर्शन गुरुङले डेब्यु गर्ने मौका पाए । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो ।

‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको दोस्रो मैत्रीपूर्ण मंसिर २ गते हुनेछ ।