दमक । दमक ३ दुम्सेमा जारी चात्या सा नकआउट फुटबल प्रतियोगितामा मंगलबारको खेलमा आयोजक चात्या सा पुस्तकालय र यङ स्टार दमक विजयी भएका छन् ।
स्थानीय चुलाचुली खेलमैदानमा आयोजित प्रतियोगिताको पहिलो खेलमा आयोजकले सिर्जनशील क्लब सुन्दर हरैँचालाइृ २-१ गोल अन्तरले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको हो ।
आयोजकका लागि रजित परियार र समिर राईले गोल गरेका थिए भने पाहुना टोली सिर्जनशीलका तर्फबाट सुशिल खड्काले सान्त्वना गोल फर्काए । खेलको म्यान अफ दी म्याच आयोजकका गोलरक्षक निरन राई घोषित भए ।
मंगलबार नै भएको दोस्रो खेलमा यङ स्टार क्लबले अर्को पाहुना टोली नवदिप युवा क्लब मधुमल्लालाई २-० गोलले पराजित गर्यो । उसका लागि वर्तमान राईले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए भने दोस्रो गोल राहुल राईले वर्तमानको पासमा गरेका थिए ।
माघ १६ गते हुने फाइनल खेलको विजेताले नगद ५० हजार र ट्रफी तथा उपविजेताले नगद २५ हजार र ट्रफी पाउनेछ ।