काठमाडौं । स्याङ्गजाको वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा चन्द्रपुर नगरपालिकालाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा वालिङले चन्द्रपुरलाई ३-० गोल अन्तरले पराजित गरेको हो । वालिङको जितमा मेथो रुथले दुई गोल गरिन् । यस्तै टोउटा ओर्नेलाले एक गोल थपिन् ।

खेलको ३७ औं मिनेटमा क्यामरुनी खेलाडी ओर्नेलाले फ्रिकिकबाट गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् । खेलको ४५ औं मिनेटमा क्यामरुनकै रुथले गोल गर्दा वालिङ २-० ले अघि रह्यो ।

त्यसपछि खेलको ५४ औं मिनेटमा रुथले व्यक्तिगत दोस्रो गोल गर्दै वालिङलाई ३-० को सहज जित दिलाईन् । वालिङको यो लिगमा दोस्रो जित हो ।

जितसंगै वालिङले ६ खेलमा ८ अंक जोडेको छ । वालिङ चौंथो स्थानमा उक्लिएको छ । चन्द्रपुरले ६ खेलमा ३ अंक जोडेको छ । चन्द्रपुरको यो पाँचौ हार हो । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ ।