काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लब पराजित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा पुलिस विराटनगर महानगरपालिकासँग १-० गोल अन्तरले पराजित भएको हो ।
विराटनगरको जितमा पार्वती घलेले निर्णायक गोल गरिन् । खेलको नवौं मिनेटमा पार्वतीले निर्णायक गोल गरेकी थिइन् । पुलिसको डिफेन्डरबाट बल खोस्दै पार्वतीले गोल गरेकी हुन् ।
खेलमा पुलिसले पनि गोलको अवसर पाएको थियो । तर, सदुपयोग गर्न सकेनन् । खेलको २०औं मिनेटमा निर्मला बिकको प्रहार पोस्टमा लागेर फर्कदा पुलिस निराश बनेको थियो । यस्तै ८७ औं मिनेटमा कप्तान घिम कुमारी गुरुङको फ्रिकिकमा अमृता जैशीको उत्कृष्ट हेड बल पनि पोलमा लागेर फर्किएको थियो ।
यससँगै विराटनगरले लिगमा तेस्रो जित हासिल गरेको छ । जितसंगै विराटनगरले ६ खेलबाट १० अंक जोडेको छ । विराटनगर लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ ।

पुलिसले ६ खेलमा ८ अंक जोडेको छ । पुलिस लिगको चौंथो स्थानमा झरेको छ । लिगमा पुलिसको यो दोस्रो हार हो । यस अघि पुलिस एपीएफसँग पराजित भएको छ । पुलिस र विराटनगरबीचको खेलसंगै लिगको दोस्रो चरणको खेलहरु सकिएको छ ।