काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा शीर्ष स्थानको एपीएफ क्लबले कठिन जित निकालेको छ ।

सोमबार भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबमाथि २-१ गोलको संघर्षपूर्ण जित निकालेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफलाई जित दिलाउन रबिना गोलेले एक गोल गरिन् । एपीएफले एक गोल आत्मघाती उपहार पाएको थियो ।

पुलिसका अमृता जैशीले एक गोल फर्काईन् । निकै प्रतिस्पर्धात्मक बनेको विभागीय डर्बीमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भने आत्मघाती गोलबाट एपीएफले अग्रता बनायो । ६८ औं मिनेटमा पुलिसकी कप्तान घिम कुमारी गुरुङले आत्मघाती गोल गरिन् ।

तर, ७५ औं मिनेटमा पुलिसले बराबरी गोल फर्कायो । अमृताले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरिन् । त्यसपछि खेलको ८५ औं मिनेटमा रबिनाले गोल गर्दै एपीएफलाई २-१ को जित दिलाईन् ।

जितसँगै एपीएफले अपराजित यात्रा कायम राखेको छ । र, एपीएफ उपाधि नजिक समेत पुगेको छ । एपीएफले १० खेलमा ३० अंक जोडेको छ ।

पुलिसले १० खेलमा १४ अंक जोडेको छ । चौंथो स्थानको पुलिस उपाधि होडबाट बाहिरिसकेको छ ।