शनिश्चरे । झापाको अर्जुनधारा-९ स्थित नमूना युवा क्लबमा आवद्ध भइ नियमित अभ्यास गर्ने खेलाडीलाई शनिबार एक कार्यक्रमका बीच खेल सामग्री प्रदान गरिएको छ ।

खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरुङ्गास्थित कोटीहोम पीसीआर ल्याबका इञ्चार्ज शान्तिराम पोखरेल र बिर्तामोडस्थित हिमर्स एजुकेसन कन्सल्टेन्सीका सञ्चालकद्वय मनिष अधिकारी र रमेश लुइँटेलले खेलाडीलाई उक्त सामग्री प्रदान गरेका हुन् ।

स्थानीय वडा खेलकुद विकास समिति र खेलप्रेमी कर्मासिंह गोम्देनको समन्वयमा प्रदान गरिएका सामग्रीमा २० थान बुट, १४ थान जर्सी र एक थान ग्लोब्स रहेको समितिका संयोजक सुरेन राईले जानकारी दिए । त्यसैगरी विपन्न एवम् नियमित अभ्यासका लागि टाढाबाट आउने खेलाडी सञ्चिता कार्कीलाई दाताबाट एक थान साइकल प्रदान गरिएको थियो ।

सोही कार्यक्रमको सन्दर्भमा खेलाडीको नियमित अभ्यासका लागि सहयोग पु¥याउने उद्देश्यले झापा जिल्ला फुटबल संघबाट चार थान, संघका सदस्य टेकराज तिलिङबाट दुई थान र स्थानीय भूवनेश्वर शिव पाञ्चायन आनन्द धामबाट दुई थानसहित जम्मा आठ थान फुटबल प्रदान गरिएको थियो ।

प्रदेश सांसद् वृख प्रधानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”, झापा जिल्ला रेफ्री संघका अध्यक्ष प्रदिपकुमार बस्नेत, दाता पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नगर सभा सदस्य मनोज तामाङले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन समितिका सचिव धनबहादुर तामाङले गरेका थिए ।