काठमाडौं । काठमाडौं रेजर्स एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै काठमाडौं फाइनलमा पुगेको हो । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई गोल गरे । यस्तै स्टेफेन बिनोङले एक गोल थपे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको १५औं मिनेटमा मेसौकेले पेनाल्टीमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए ।

मेसौकेको पासमा स्टेफेनले बल अगाडी बढाउने क्रममा ललितपुरका डिफेन्डर कमल श्रेष्ठले बक्स भित्र लडाएपछि काठमाडौंले पेनाल्टी पाएको थियो । जसमा मेसौकेले गोल गरे ।

खेलको २२औं मिनेटमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई २-० को अग्रता दिलाए । तेज तामाङले डिबक्स बाहिर उपलब्ध गराएको बल अगाडी बढाउदै डिफेन्डर पिटरलाई बिट गर्दै मेसौकेले उत्कृष्ट गोल गरे ।

खेलको ६०औं मिनेटमा स्टेफेनले गोल गर्दै काठमाडौंलाई ३-० को जित दिलाए । उनले तेज तामाङको पासमा बल नियन्त्रण गर्दै गोलरक्षक अर्पण कार्कीसँगको वान भर्सेज वानमा उत्कृष्ट गोल गरे ।

खेलमा काठमाडौंका मेसौके प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका आशिष गुरुङ चुनिए । उनले १० हजार प्राप्त गरे ।

अब उपाधिका लागि काठमाडौंले धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौं र धनगढीबीचको फाइनल खेल शनिबार हुनेछ ।

धनगढी पहिलो क्वालिफायरमा काठमाडौंलाई नै अतिरिक्त समयमा २-१ गोल अन्तरले हराएर फाइनल पुगेको हो ।