झापा । काठमाडौँको पाहुना टोली चर्च ब्वाइज युनाइटेड कञ्चन श्रीमा जारी दोस्रो हल्दिबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबारको पहिलो सेमिफाइनल खेलमा बिर्तामोडको रेड स्टार एफसीलाई रोक्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । रेड स्टारलाई २–० गोलको अन्तरमा पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो ।

चर्च ब्वाइजका लागि पहिलो हाफमा निशान लिम्बूले सम्झनलायक गोल गरे । त्यस्तै, दोस्रो हाफमा छिरिङ गुरुङ थप गोल गर्दै अग्रता दोब्बर बनाए । उनी खेलको म्यान अफ दी म्याच घोषित हुँदै नगद तीन हजार पाउन सफल भए ।

आठ टिम सहभागी गोल्डकपको विजेताले नगद १ लाख २१ हजार १११ र उपविजेताले ६१ हजार १११ रुपैयाँ पाउनेछ । बिहीबारको अन्तिम सेमिफाइनल खेल आयोजक जलथल एफसीविरुद्ध उर्लाबारीको ब्रदर्श युनाइटेड क्लबबीच हुनेछ ।