एजेन्सी । फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै इटाली १६औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै, पहिलो क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्पेन अन्तिम चारमा पुगिसकेको छ ।

शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो ।

जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए ।

खेलको ३०औं मिनेटमा बरेलाले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए । मार्को भेराट्टीको पासमा उनले दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे ।

त्यसअघि खेलको १३औं मिनेटमा इटालीका लियोनार्दो बुनिचीको गोलले मान्यता पाएन । भीएआरबाट बुनिची अफसाइड देखिएका थिए ।

खेलको ४४औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए । उनले एकल प्रयासमा बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । जियोभानी लोरेन्जोले पेनाल्टी बक्स भित्र जेरीमी डोकुलाई लडाएपछि बेल्जियमले पेनाल्टीको अवसर पाएको थियो ।

यस जितसँगै इटालीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ ।

इटालीले अघिल्लो खेलमा ८२ वर्ष अगाडिको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । यस अघि इटालीले १९३५ को अक्टोबरदेखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।

अब इटालीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगिसकेको छ । ‘गोल्डेन जेनेरेसन’ टिम बेल्जियम भने क्वाटरफाइनलबाट बाहिरिएको छ ।

तीन पटकको च्याम्पियन स्पेन १६औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो ।

रुसमा शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा १० खेलाडीमा सीमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो ।

सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । पेनाल्टी सुटआउटमा स्पेनले बाजी मार्यो ।

पेनाल्टीमा जानु अघि खेलको आठौं मिनेटमा स्पेनले आत्मघाती गोल उपहारबाट अग्रता बनाएको थियो । स्विट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गरे । स्पेनका जोर्डी अल्बाले बक्स बाहिरबाट प्रहार गरेको बल डेनिसलाई लाग्दै गोलमा परिणत भएको थियो ।

तर, खेलको ६८ औं मिनेटमा कप्तान जद्रान शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई १-१ गोलको बराबरीमा फर्काए । उनले रिमो फ्रिउलरको पासमा गोल गरे ।

खेलको ७८ औं मिनेटमा स्विट्जरल्यान्ड १० खेलाडीमा समेटियो । उसका फ्रिउलर रातो कार्ड पाउदै मैदानबाट बाहिरिएका थिए । स्पेनका जेरार्ड मोरेनोलाई खराब ट्याकल गरेपछि उनलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए ।