झापा । अर्जुनधारा नगरपालिकाको नगर खेलकुद विकास समितिले खेलकुद क्षेत्रका अग्रज चार जना व्यक्तित्वलाई सम्मान गर्ने भएको छ ।
नगरभित्र रही खेलकुदको विभिन्न विधाको माध्यमबाट महत्वपूर्ण योगदान पुराउने चार जना अग्रज व्यक्तित्वलाई नगदसहित सम्मान गर्न लागेको हो । सम्मान कार्यक्रम भोलि (आइतबार) हुनेछ ।
अर्जुनधारा नगरपालिकालाई कर्मथलो बनाइ फुटबल, एथलेटिक्स, मार्सलआर्टस्को कराते र तेक्वान्दो विधाबाट नगरको पहिचान राख्न सफल व्यक्तित्वलाई सम्मान गर्न लागेको समितिका संयोजक अर्जुन मेचेले जानकारी दिए ।
उनका अनुसार फुटबल विधाबाट पूर्व खेलाडी तथा प्रशिक्षक भगिरथ आले मामा, एथलेटिक्सका पूर्व खेलाडी हेमनारायण चौधरी, करातेका प्रशिक्षक नारायण सुब्बा र तेक्वान्दोका प्रशिक्षक जितेन्द्र मेचेलाई नगदसहित सम्मान गर्न लागिएको हो ।
अर्जुनधारा ७ स्थित पितृ भवनमा आयोजना हुने सम्मान कार्यक्रममा उनीहरुलाई जनही १५-१५ हजार नगद, सम्मानपत्र र दोसल्ला प्रदान गरिने भएको छ ।
फुटबल प्रशिक्षक मामाले राष्ट्रिय पहिचान बनाएका छन् भने धावक चौधरीले २०३८ सालमा आयोजित प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा मेची अञ्चलबाट सहभागिता जनाएका थिए ।
यस्तै, सुब्बाले अर्जुनधारा नगर क्षेत्रमै कराते खेल भित्र्याएर अहिलेसम्म निरन्तरता दिइरहेका छन् भने मेचेले तेक्वान्दो खेल नगरमा भित्र्याएर हालसम्म खेल जीवन र प्रशिक्षणलाई जारी राखेका छन् ।
उनीहरुलाई प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा पुरस्कार तथा सम्मान प्रदान गरिने भएको छ ।