टोकियो । टोकियो ओलम्पिक २०२० को पदक तालिकामा सुरुबाटै चीनले अग्रता लियो । उद्घाटन समारोहको भोलिपल्टदेखि गणना गरेर प्रतिस्पर्धाको १५औं दिनसम्म उसलाई कसैले उछिन्न सकेको थिएन ।
चीनले ३८ स्वर्णसहित शीर्षस्थानमा रहेर ३२ औं ग्रीष्मकालीन ओलम्पिकको अन्तिम दिन आइतबारको प्रतिस्पर्धा थालेको थियो । चीन स्वर्णको दुई अवसरमा चुकेपछि अमेरिकाले शीर्षस्थान कब्जा गर्यो ।
ग्रीक राजधानी एथेन्सबाट १२५ वर्षअघि सुरु भएको आधुनिक ओलम्पिकमा स्वर्णका आधारमा पदक तालिकामा वरीयता निर्धारण गरिन्छ । यसमा अघिल्लो दिनसम्म चीनले अमेरिकामाथि २ स्वर्णको अग्रता लिएको थियो । अन्तिम दिन तीन स्वर्ण जित्दै अमेरिकाले चीनलाई उछिन्दै शीर्षस्थानमा टोकियो ओलम्पिक टुंग्याएको हो ।
विश्व राजनीति र व्यापारमा चर्को प्रतिस्पर्धा गरिरहेका सुपरपावर अमेरिका र चीनबीच हरेक क्षेत्रको प्रतिस्पर्धाले ध्यान खिच्ने गरेको छ । यस ओलम्पिक पनि यी दुई शक्तिमा कसले सर्वाधिक स्वर्ण जित्ने भन्नेमा धेरै बहस र अनुमान भएको थियो । यस्तोमा अमेरिकाले फेरि एकपल्ट चीनको बेइजिङ ओलम्पिक २००८ यता सर्वाधिक स्वर्ण जित्ने योजनालाई असफल पारिदियो ।
यसपटक अमेरिका र चीनबीच शीर्षस्थानको होड निकै चर्को रह्यो । अन्तिम दिनभन्दा अगाडि रहेको चीनलाई अमेरिकाले पछ्याइरह्यो । रिदमिक जिम्न्यास्टिक अलराउन्ड (समूह) को फाइनलमा चौथो स्थानमा सीमित भएको चीन महिला बक्सिङको मिडलवेटमा पनि रजत पदकमै रोकियो । त्यसैले अमेरिकाले तीन स्वर्ण जित्दै अमेरिकाले शीर्षस्थानमा रहेर टोकियो ओलम्पिकको सुखद अन्त्य गर्यो । यसक्रममा अमेरिकालाई अन्तिम दिनको तीनै स्वर्ण महिला खेलाडीले दिलाए । चीनले पनि अधिकांश पदक महिला र मिक्स स्पर्धामै हात पार्यो ।
३२औं संस्करणको ३३ खेलमा ३ सय ३९ स्पर्धा समावेश थिए । शरणार्थीको एक टिम तथा २ सय ५ देशका ११ हजार बढी खेलाडीको प्रतिस्पर्धामा ३ सय ४० स्वर्ण, ३ सय ३८ रजत र ४ सय २ कांस्य वितरण गरियो ।
यसपालि ९३ देशले पदक जित्दा अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कांस्यसहित कुल १ सय १३ पदक जित्यो । पौडी, एथलेटिक्स, जिम्न्यास्टिकमा अपेक्षाकृत प्रदर्शन गर्न नसके पनि अमेरिकाले शीर्षस्थान गुमाउनु परेन ।
चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कांस्यसहित ८८ पदक हात पार्यो । उसले भारोत्तोलन, डाइभिङ, जिम्न्यास्टिक र टेबलटेनिसमा विगतजस्तै वर्चस्व राख्यो । क्यानोइङ, साइक्लिङ, रोइङ र एथलेटिक्समा पनि स्वर्ण जित्यो । पौडीमा पनि सुधार गर्यो । तर, देशबाहिर भएको ओलम्पिकमा अमेरिकालाई उछिन्न सकेन । सन् १९८४ मा ओलम्पिकमा फर्केयता चीन अमेरिकालाई उछिनेर विश्व खेलकुदकै सुपरपावर हुने दाउमा रहेको छ ।
कोभिड १९ को महामारीले एक वर्ष धकेलिएको ओलम्पिकमा आफ्नै जनता विपक्षमा हुँदाहुँदै पनि जापान सरकारले सफल आयोजना गर्यो । टोकियोमा कोभिड संक्रमितको संख्या बढिरहेकै बेला जापानले ओलम्पिक पदकमा पनि ऐतिहासिक फड्को मार्यो । उसले २७ स्वर्ण, १४ रजत र १७ कांस्यसहित ५८ पदक जित्दै पहिलोपल्ट तेस्रो स्थान हात पार्यो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।