काठमाडौं । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टिम आज सोमबार नेपाल आईपुगेका छन्।

भारतीय टिम अपरान्ह नेपाल आईपुगेका हुन् । भारतीय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायतले स्वागत गरेका थिए । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि इन्डिया फुटबल फेडेरेसनले शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरिसकेको छ ।

भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले कप्तान सुनिल क्षेत्री लगायतका सिनियर खेलाडीलाई समावेश गर्दै टिम घोषणा हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि भारतीय टोलीका कप्तान सुनील क्षेत्रीले नेपाली भाषामा नै सञ्चार माध्यमलाई प्रतिक्रिया दिए ।

भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ। मैत्रीपूर्ण खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो। साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ। नेपाली टिम पोखरामा बन्द प्रशिक्षणमा रहेको छ ।

अन्तिम पटक नेपालले सन् २०१५ को मार्चमा भारतविरुद्धको खेल आयोजना गरेको थियो । सन् २०१८ को विश्वकप छनोट अन्तर्गत भएको खेलमा दुवै टिमले गोल रहित बराबरी खेलेका थिए ।