झापा । नेपाल र भारतबीच भएको मैत्रीपूर्ण दोस्रो खेलमा नेपाल पराजित भएको छ । दशरथ रंगशालामा आइतबार साँझ भएको खेलमा नेपाल २-१ गोल अन्तरले भारतसँग पराजित भएको हो ।
खेलको सबै गोल दोस्रो हाफमा सम्भव भएको हो । पहिलो हाफ दुवै टोलीले बराबरी खेलेका थिए । तर, खेलको पहिलो गोल गर्दै भारतका लागि सब्सिच्यूट प्लेयर फारुक चौधरीले अग्रता दिलाएका थिए । खेलको ६२औँ मिनेटमा उनले गोल गरेका हुन् ।
गोलकिपर किरण लिम्बू नजिकै अनमार्क रहेका फारुकले कप्तान सुनिल क्षेत्रीको हेड पासलाई गोलपोस्टको दिशा दिएका हुन् ।
यस्तै, खेलको ८०औँ मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले गोल गरेर २-० गोलको अन्तर निकालेका थिए । नेपालले पाएको फ्रिकिकमा डिफेन्डि पोजिसन लिएर भारतले निकालेको बल काउन्टर अट्याक भएको थियो ।
जसमा नेपाली कप्तान किरण लिम्बूविरुद्ध भारतका कप्तान सुनिल क्षेत्रीमात्र थिए । किरणलाई पन्छाउँदै भारतीय कप्तान सुनिलले सम्झनलायक गोल गरेर टिमका लागि अग्रता दोब्बर बनाएका हुन् ।
खेलको अन्त्यतिर नेपालका लागि तेज तामाङको कडा प्रहार गोलमा परिणत हुँदा नेपाल २-१ गोलले पराजित बन्यो ।
खेलको ८६औँ मिनेटमा करिब २० यार्डको दूरीबाट तेजले गरेको कडा प्रहारले सिधै भारतको गोलपोस्टमा गएर जाली चुमेको थियो । २-० ले पछि परेको अवस्थामा तेजको गोलसँगै नेपाली टोली खेलमा फर्किने प्रयास गरेको थियो ।
राष्ट्रिय फुटबल टिमबाट तेजले पहिलो अन्तराष्ट्रिय गोल गर्न सफल भए ।
साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले भारतलाई मैत्रीपूर्ण फुटबल खेलका लागि काठमाडौंमा आतिथ्यता प्रदान गरेको थियो । भारतविरुद्ध दुई मैत्रीपूर्ण फुटबल खेलेर साफको अन्तिम तयारीमा जुट्ने नेपालको योजना छ ।
बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलेको थियो ।